स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण डरलाग्दो गरि बढीरहेको भन्दै सर्वसाधारणलाई संवेदनशिल रहन आग्रह गरेको छ ।
१७ बैशाख २०७८ मा सार्वजनिक सुचना जारी गर्दै स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई बढ्दो संक्रमणका बीच संवेदनशिल रहन आग्रह गरेका हुन् ।
डा. अधिकारीले जारी गरेको सार्वजनिक सुचना अनुसार नेपालका २२ जिल्ला कोरोना संक्रमणको अती प्रभावित जिल्ला हुन् ।
यी जिल्लाहरुमा कोरोना संक्रमण डरलाग्दो गरी बढीरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,” मन्त्रालयद्धारा जारी सार्वजनिक सुचनामा भनिएको छ ।

डा. अधिकारीले बढ्दो संक्रमण रोक्न मास्क लगाउने, भौतिक दुरी कायम गर्नुपर्ने, समय–समयमा साबुन पानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले हवाई र स्थलमार्गबाट देश विदेश जाने तथा आउने काम पूर्ण रुपमा बन्द गर्न/गराउन र जनस्वास्थ्यका मापदण्डहरु कडा रुपमा पालना गर्न अत्यावश्यक भएको बताएका छन् ।
मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसकिने गरि कोरोना संक्रमण बढीरहेको भन्दै संवेदनशिल हुन आग्रह गरेको छ ।
१७ बैशाखमा स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७२७ व्यक्ति कोरोना संक्रमित भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ, भने ९२८ निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ३३१ जना कोरोनाका सिकिस्त संक्रमितको आइसियु र ११५ जनाको भेन्टीलेटरमार्फत उपचार भइरहेको छ ।




