विष्णु श्रेष्ठ/काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ ५ गतेदेखि सुरु गरेको “स्वर्णविन्दु कार्यक्रम” विवादमा परेको छ। मन्त्रालयले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णभस्म, मह र घिउ मिसाएको थोपा खुवाउने योजना सार्वजनिक गरेपछि आयुर्वेद चिकित्सक र बालरोग विज्ञबीच तीव्र बहस सुरु भएको हो।
आयुर्वेद चिकित्सकले परम्परागत अभ्यासलाई वैज्ञानिक प्रमाणसहित अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । बालरोग विज्ञहरूले प्रमाण अभावमा यो कार्यक्रम खतरनाक हुन सक्ने चेतावनी दिएका छन्।
आयुर्वेद पक्षको तर्क
आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली भन्छन्, “अमेरिकामा १२ वर्षअघि गरिएको रिसर्चमा अफ्रिकाबाट ल्याइएको महमा क्लोस्ट्रिडियम बोटुलिनम भेटिएको थियो। त्यसैले ६ महिनामुनिका शिशुलाई मह नदिनु भन्ने सिफारिस गरिएको हो। तर नेपालमा खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्रै मह दर्ता गर्छ, त्यसैले समस्या छैन।”
उनका अनुसार भारतमा लाइसन्स प्राप्त गरेर आयात गरिने स्वर्णभस्मलाई औषधि व्यवस्था विभागले फेरि परीक्षण गरेपछि मात्र प्रयोग गर्न दिइन्छ। “हाम्रो अनुसन्धानमा ९५ प्रतिशत सुरक्षित देखिएको छ, त्यसैले बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन यो कार्यक्रम अघि बढाइएको हो,” ज्ञवालीले दाबी गरे।

मन्त्रालयले किन ल्यायो यो कार्यक्रम?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आयुर्वेदमा दुई हजार वर्षअघि नै स्वर्णप्राशन बालबालिकालाई खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने मान्यताका आधारमा यो कार्यक्रम ल्याएको बताए । “भारतका केही राज्यमा यो अभ्यास भइरहेको छ। नेपालमा पनि आयुर्वेद स्वास्थ्य केन्द्रहरूले आंशिक प्रयोग गर्दै आएका थिए, त्यसलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने सोचले हामीले सुरु गरेका हौं।”
उनका अनुसार यो कार्यक्रम प्रत्येक महिना आयुर्वेदिक अस्पताल र स्वास्थ्य केन्द्रमार्फत चलाइन्छ।
बालरोग विशेषज्ञको चिन्ता
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी बालरोग विज्ञ डा. सृजना बस्नेतले महमा क्लोस्ट्रिडियम बोटुलिनमको बीजाणु हुन सक्ने भएकाले विशेषगरी १ वर्षमुनिका शिशुलाई मह दिनु सुरक्षित नहुने बताउँछिन् ।

“अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (AAP) र विश्व स्वास्थ्य संगठन (WHO) दुवैले १२ महिनाभन्दा तलका शिशुलाई मह दिनु हुँदैन भनेका छन्। तर यो कार्यक्रमले ६ महिनामुनिकालाई समेत समेट्ने सम्भावना छ, जुन खतरनाक हुन सक्छ।”
उनले थपिन्, “स्वर्णभस्मबारे पनि ठोस वैज्ञानिक प्रमाण भेटिएको छैन। सन् २०१७ मा ‘जर्नल अफ ट्रान्सलेसनल मेडिसिन’ मा प्रकाशित एक रिभ्युमा स्वर्णभस्मको प्रयोगबारे प्रायः सानो र अवलोकनात्मक अध्ययन मात्रै भेटिएका छन्, ठूला वैज्ञानिक ट्रायल छैनन्। त्यसैले वैज्ञानिक अध्ययनबिनै यस्तो कार्यक्रम सञ्चालन गर्नु जोखिमपूर्ण हुन्छ।”
नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) ले समेत विज्ञप्ति निकाल्दै कार्यक्रम तत्काल रोक्न र प्रमाणमा आधारित पुनरवलोकन गर्न माग गरेको छ।
विवाद किन ?
महबारे अन्तर्राष्ट्रिय नीति: CDC (अमेरिका), NHS (बेलायत) र WHO का अनुसार १२ महिनाभन्दा तलका बालबालिकालाई मह दिनु हुँदैन, किनकि यसले इन्फेन्ट बोटुलिज्म गराउन सक्छ।

स्वर्णभस्मबारे अध्ययन: भारत र नेपालका केही अनुसन्धानले यसलाई सुरक्षित भने पनि, ‘इंटरनेशनल जर्नल अफ आयुर्वेदा रिसर्च’ (२०१०) र अन्य रिभ्युहरूले ठूला क्लिनिकल ट्रायल नभएको, दीर्घकालीन असर अज्ञात रहेको देखाएका छन्।
सरकारी नीति: नेपालमा खाद्य ऐन, २०३३ र औषधि ऐन, २०३५ अनुसार आयातित मह र आयुर्वेदिक औषधि दर्ता र परीक्षण गर्नुपर्छ। तर यी परीक्षणले पनि ‘बोटुलिज्म स्पोर’ हटाइदिन्छ भन्ने ग्यारेन्टी गर्दैन।



