बिष्णु श्रेष्ठ/काठमाडौं
वैदेशिक रोजगारीका लागि प्रायः निम्न र मध्यम आय भएका व्यक्ति जाने गरेकोबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र म्यानपावर कम्पनिमा लाग्ने भिडबाट प्रष्ट हुन्छ । तर पछिल्ला केहि वर्षको तथ्यांक केलाउँदा यसरी विदेशिनेमा डक्टरहरुको संख्या बढिरहेको देखिन्छ ।
सन् २०२४ मा नेपाल चिकित्सक संघको जर्नलमा प्रकाशित एक अध्ययन अनुसार अध्ययनका लागि भनेर सन् २०२० मा १०८७ डक्टरले देश छाडेकोमा यो संख्या सन् २०२३ मा २ हजार ५८२ पुग्यो ।
यसरी विदेशिनेहरुमा अमेरिका जाने चिकित्सकको संख्या बढ्दो छ । जस्तो सन् २०२० मा २७६ डक्टर विदेशिएकोमा सन् २०२३ मा यो संख्या बढेर ८४३ पुग्यो ।
२ हजार जना डाक्टरले नेपालमा २० लाख जनसंख्या सेवा दिन सक्छन् । विश्व स्वास्थ्य संघठनको युनिभर्सल हेल्थ कभरेजमा उल्लेख भए अनुसार ४ जना चिकित्सकले हरेक १ हजारदेखि एक हजार ५०० जनसंख्यालाई सेवा दिन सक्छन् ।
नेपालमा स्वास्थ्यकर्मीहरूको असमान वितरण रहेको नेपाल चिकित्सकको संघको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले देखाएको छ ।
सन् २०११ देखि २०१९ मा नेपालमा १० हजार जना जनसंख्याका लागि ८.१ डक्टर, ३.३ नर्स वा मिडवाइफ र १.१ जना मात्र दन्त चिकित्सक मात्र उपलब्ध छन्।
युरोपमा २३२ जनामा एक डाक्टर र अमेरिकामा १२१ जनामा एक नर्स वा मिडवाइफ उपलब्ध छन्। नेपालमा हरेक वर्ष करिब २,००० देखि २,५०० डाक्टर उत्पादन भए पनि सन् २०२१ मा १० हजार जनसंख्याका लागि ८.६७ जना मात्र डक्टर उपलब्ध थिए । यसले नेपालमा उत्पादित डक्टर विदेश पलायन हुँदा देशभित्रै उनीहरुको आवश्यकता रहेको देखाउँछ ।
प्रत्येक वर्ष डक्टर उत्पादन पनि बढ्दै
नेपालमा डाक्टर उत्पादनको तथ्यांक हेर्ने मानक चिकित्सा शास्त्रको अध्ययन पुरा गरेर नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परिक्षा उत्तिर्णको संख्या हो । मेडिकल काउन्सिलले लिने लाइन्स जाँच पास गरेपछि मात्र डाक्टरको रुपमा बिरामी जाँच्न पाउने व्यवस्था छ ।
काउन्सिलको तथ्यांक अनुसार सन् २०१८ मा एमबीबीएस तह पास गरेका ४ हजार ३४२ डक्टरले लाइन्स परिक्षा उत्तिर्ण गरे । यसरी लाइसेन्स जाँच पास गर्ने चिकित्सकको संख्या सन् २०२२ मा ५ हजार ६८७ पुग्यो ।
यस्तै, पोष्ट ग्राजुएट तह पास गरेर विशेषज्ञ बनेर बिरामी जाँच्नका लागि सन् २०१८ मा १ हजार १८२ जना डक्टर लाइसेन्स परिक्षामा उत्तिर्ण भए । यो संख्या सन् २०२२ मा १ हजार ६७३ पुग्यो । यसरी नेपालमा डाक्टर बन्नेहरुको संख्या जसरी बढीरहेको छ, विदेशिनेहरुको संख्या पनि उस्तै बढी रहेको छ ।
डाक्टर बन्ने प्रक्रिया
नेपालमा डाक्टर बन्नका लागि स्नातक तह(एमबीबीएस)मा पाँच वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । यो अध्ययन पुरा गरेर मात्र हुँदैन । नेपाल मेडिकल काउन्सिलले लिने लाइन्स जाँच पास गरेपछि मात्र डाक्टरको रुपमा बिरामी जाँच्न पाउँछन् ।
एमबीबीएसपछि स्नातकोत्तर तह पुरा गर्न तीन वर्ष डिएम/एमचिएच तह अध्ययन गर्नुपर्छ । यो भन्दा पनि उच्च तहको अध्ययन गर्न चाहने डाक्टरको उमेर कार्य अनुभवका लागि पनि ४० वर्ष पुगिसकेको हुन्छ ।
यसरी नेपाली डाक्टरहरुको आधाभन्दा धेरै जीवन त अध्ययनमै बित्छ । यस क्रममा उनीहरुले चिकित्सकिय अभ्यास पनि गरेका हुन्छन् ।
स्नाकोत्तर तह पुरा गरिसक्दा उनीहरुको कम्तिमा पनि एक करोड खर्च भइसकेको हुन्छ । यसरी चिकित्सक बनेका उनीहरुले अध्ययन गर्न लागेको समय र खर्च अनुसार नेपालमा राम्रो तलब सुविधासहितको जागिर पाउँदैनन् । देशको आर्थीक, राजनीतिक र सामाजिक परिवेशका कारण पनि डक्टरहरु विदेश जान बाध्य भइरहेको छन् ।

डक्टरहरु विदेश जान बाध्य हुनुको कारण के ?
डाक्टरहरु सबैभन्दा पहिले आफ्नो राम्रो भविष्य सोचेर बिदेशिएका हुन्छन् । राम्रो तलब सुविधा र काम गर्ने राम्रो वातावरण हुने भएकाले पनि उनीहरु विदेशिने गरेका हुन् ।
कतिपय डाक्टरहरु अध्ययन क्रममा लागेको ऋण तिर्न नसकेर पनि विदेश पलायन हुन बाध्य हुने गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्टार डा. कृष्ण अधिकारी राम्रो पढाई र कमाई हुने भएकाले नेपाली डक्टरहरु विदेशिने गरेको बताउँछन् ।
एशोसियसन अफ अमेरिकन मेडिकल कलेजका अनुसार अनुसार सन् २०२० मा अमेरिकामा मेडिकल रेसिडेन्टको पहिलो वर्षको औसत वार्षिक तलब ६३,४०० अमेरिकी डलर थियो । यो तलब हरेक वर्ष करिब ३ प्रतिशतले वृद्धि हुने गरेको छ। यसको तुलनामा नेपालमा डाक्टरहरूको वार्षिक तलब रु. ५,८४,८४४ (झण्डै ४,३५७ अमेरिकी डलर) मात्र छ।
डा. अधिकारिका अनुसार नेपालमा चिकित्सा शिक्षामा पोष्ट ग्राजुयट अध्ययनका लागि कम कोटा खुल्ने भएकाले विदेशिने गरेका छन् । “नेपालमा वर्षमा सरकारी स्तरमा एउटा पनि स्थायि जागिर खुल्दैन,” उनले भने, “त्यसैले नेपालमा डाक्टरहरूले जागिर नपाएर र नेपालमा पढ्ने ठाउँ नपाएर उनीहरु विदेश गएका हुन् ।”
नेपालको स्वास्थ्य प्रणालीमा राजनीतिक प्रभाव हावी भएका कारण डाक्टरहरुले छाडिरहेका छन् ।
डक्टरहरु विदेश पलायन हुँदा के असर पर्छ?
नेपाली डाक्टरहरु विदेश पलायन हुँदा यसको प्रत्यक्ष असर नेपालको स्वास्थ्य सेवामा पर्छ । देशभित्रै पर्याप्त डक्टर नहुँदा बिरामीले समयमा उपचार नपाएर ज्यानै गुमाउनु पर्ने बाध्यता रहन्छ । अनुभवी तथा दक्ष डाक्टरहरु विदेश गएपछि बाँकी चिकित्सकहरूलाई कामको भार पर्छ । यसको प्रभावका कारण बिरामीले भनेको समयमा प्रभावकारि उपचार नपाउने जोखिम रहन्छ ।
नेपालमा स्वास्थ्यकर्मीहरूको असमान वितरण रहेको उक्त अध्ययन प्रतिवेदनले देखाएको छ ।
सन् २०११ देखि २०१९ मा नेपालमा १० हजार जना जनसंख्याका लागि ८.१ डक्टर, ३.३ नर्स वा मिडवाइफ र १.१ जना मात्र दन्त चिकित्सक थिए। युरोपमा २३२ जनामा एक डाक्टर र अमेरिकास क्षेत्रमा १२१ जनामा एक नर्स वा मिडवाइफ उपलब्ध छन्। नेपालमा हरेक वर्ष करिब २,००० देखि २,५०० डाक्टर उत्पादन भए पनि सन् २०२१ मा १० हजार जनसंख्याका लागि ८.६७ जना मात्र डक्टर उपलब्ध थिए । यसले नेपालमा उत्पादित डक्टर विदेश पलायन हुँदा देशभित्रै उनीहरुको आवश्यकता रहेको देखिन्छ ।
त्यसो भए समाधान के ?
नेपालबाट भइरहेको डक्टरहरुको विदेश पलायन पूर्ण रुपमा रोक्न भने सकिदैन । तर यसलाई कम गर्न देशभित्रै काम गर्ने राम्रो वातावरण बनाउनुपर्छ । उनीहरुलाई उचित सेवा तथा सुविधासँगै सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ ।
डक्टरलाई देशभित्रै काम गर्ने वातावरण बनाउन चिकित्सा शिक्षा आयोगले स्नाकोत्तर तहका लागि आवश्यक सिट संख्या बढाउनुपर्छ । यस्तै, लोकसेवामार्फत सरकारी डक्टरको पदहरू बढाउनुपर्छ ।
स्वास्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. दिपेन्द्ररमण सिंह नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा र राम्रो आम्दानी हुने भए अधिकांश चिकित्सक स्वदेश फर्किने बताउँछन् । “डक्टरहरुलाई सुरक्षित र सहज रुपमा काम गर्ने वातावरण मिलाउनुपर्छ”, डा. सिंहले भने ।
द ल्यान्सेट जर्ननलमा प्रकाशित एक अध्ययनले काउन्सिलमा दर्ता भएर काम गरिरहेका चिकित्सकमध्ये ६२.९ प्रतिशत ले कार्यस्थलमा हिंसाको समस्या अनुभव गरेको देखाएको थियो ।
यदि डक्टरहरु विदेश क्रमलाई कम गर्न देशभित्रै राम्रो वातावरण बनाउन नसके विदेशिने क्रम बढ्दै जानेछ । र, यसले नेपालको स्वास्थ्य प्रणाली थप कमजोर बन्दै जाने देखिन्छ ।




