पछिल्ला वर्षहरुमा नेपालमा डेंगी संक्रमण भयावह रूपमा फैलिन थालेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार, यस वर्षको सुरुदेखि १८ अगस्टसम्म देशभर ३,१३० जना संक्रमित भइसकेका छन् । यसबीचमा तीन जनाको मृत्यु भएको छ। अहिलेसम्म ७४ जिल्लामा डेंगी संक्रमण फैलिएको छ।
गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छन् । यो प्रदेशमा ८९९ जना संक्रमित भेटिएका छन्। त्यसपछि बागमतीमा ६५१, कोशीमा ५४९, लुम्बिनीमा ५१३, सुदूरपश्चिममा ३७२, कर्णालीमा ९२ र मधेश प्रदेशमा ५४ जना संक्रमित फेला परेका छन्।
संक्रमण कसरी फैलिन्छ?
डेंगी लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमितलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेमा संक्रमण फैलिन्छ।
स्वास्थ्य मन्त्रालयका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सामान्य ज्वरो भन्दा डेंगी ज्वरोमा फरक किसिमको दुखाइ हुने बताउँछन्। “उच्च ज्वरोसँगै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर करकरी हुने, जोर्नी र घुँडा समेत दुख्छ। यस्ता लक्षण देखिए डेङ्गुको शंका गर्नुपर्छ,” डा. बास्तोला भन्छन् ।

७७ जिल्लाभर संक्रमित
नेपालमा डेंगी पहिलो पटक सन् २००४ मा एक जनामा मात्र देखिएको थियो। तर सन् २०१० मा ९१७ जना संक्रमित भएकोमा पाँच जनाको मृत्यु समेत भएपछि यसले गम्भीर रूप लिन थाल्यो। सन् २०१६, २०१७ र २०१९ मा संक्रमण तीव्र गतिमा बढ्दा हजारौँ मानिस प्रभावित भए। २०१९ मा त ४२ जिल्लामा तीन हजार ४२५ जना संक्रमितसहित डेंगीले महामारीको रूप लिएको थियो।
पहिले तराई र शहरी क्षेत्रमा देखिएको यो रोग अहिले पहाड र हिमालसम्म फैलिएको छ। सन् २०१८ मा पोखरामा देखिएपछि अन्य पहाडी जिल्लामा पनि बिरामी भेटिन थालेका थिए। पछिल्ला वर्षहरूमा ७७ जिल्लाभर संक्रमित भेटिन थालेपछि यसले देशव्यापी महामारीको रुप लिएको देखिन्छ।
🦟 सर्ने तरिका: संक्रमितलाई टोकेको लामखुट्टेले अर्को मानिसलाई टोकेपछि
🤒 लक्षण: उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर र जोर्नी दुख्ने
💊 उपचार: लक्षणअनुसार; एसिटामिनोफेन प्रयोग, तर एस्पिरिन निषेध
🩸 जोखिम: गम्भीर अवस्थामा रक्तस्राव → रगत चढाउनुपर्ने अवस्था
💉 खोप: ‘डेङ्गभ्याक्सिया’ मात्र स्वीकृत, तर नेपाल–भारतमा प्रयोगमा छैन
🌍 डब्लुएचओ अनुमोदित अन्य दुई खोपले ६०–८५% सम्म संक्रमण घटाउन सक्छन्
रोकथाम र उपचार
डेंगीका लागि हालसम्म कुनै विशेष एन्टिभाइरल औषधि उपलब्ध छैन। अहिलेसम्म डेंगीका बिरामीलाई लक्षण अनुसार मात्रै उपचार गरिन्छ। शरीर दुख्ने र ज्वरो घटाउने समस्याका लागि प्रायः एसिटामिनोफेन प्रयोग गरिन्छ । तर रक्तस्राव बढाउने भएकाले चिकित्सकहरु एस्पिरिनको प्रयोग नगर्न सुुझाव दिन्छन् ।

सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट्सका संक्रामक रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा। प्रभात अधिकारी डेंगी रोग लागेका बिरामीलाई गम्भीर अवस्थामा रक्तस्राव हुने र रगत चढाउनुपर्ने अवस्था आउने बताउँछन् । “अहिले हामी रेडक्रसको भरमा छौँ । तर रेडक्रसमा पनि पर्याप्त रगत पाइँदैन। रगतको पर्याप्त उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयले तुरुन्त पहल गर्नुपर्छ,” डा. अधिकारिले भने ।
उपचारपोष्टसँग कुरा गर्दै उनले जापानले लार्भा नष्ट गर्ने भ्याक्सिन नेपाललाई दिन तयार भए पनि नेपाल सरकारले यसका लागि कुनै पहल नगरेको बताए । “यस्तो अवस्थामा डेंगी संक्रमितको कोभिडमा जस्तै खोपले नै ज्यान जोगाउन सक्छ। त्यसैले डेङ्गु नियन्त्रणका लागि सरकारले यो विषय गम्भीरतापूर्वक लिनु पर्छ,” डा. अधिकारिले भने ।
खोपको अवस्था
हालसम्म डेंगीका लागि ‘डेङ्गभ्याक्सिया’ नामक खोप मात्र स्वीकृत छ । तर भारत र नेपालमा यसको प्रयोग भएको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका दुई अन्य खोपले डेंगीको संक्रमण र गम्भीर अवस्थालाई करिब ६०–८५ प्रतिशतसम्म घटाउन सक्छन्। तर नेपालमा यी खोपको प्रयोग भएको छैन।
सरकार र समुदायको भूमिका
विशेषज्ञका अनुसार डेङ्गु नियन्त्रणको मुख्य आधार लामखुट्टे प्रजनन रोक्नु हो।

वरिपरि जमेको पानी हटाउने,
घर–आँगन सरसफाइ गर्ने,
झ्यालमा जाली लगाउने,
मच्छरदानी प्रयोग गर्ने,
समुदायस्तरमा लार्भा खोजी गरी नष्ट गर्ने,
यी उपाय अपनाउन सके संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ। संक्रामक रोग विज्ञ डा बास्तोला सतर्कता र सचेत नै अहिलेको सबैभन्दा ठूलो औषधि हो। “डेङ्गुको संक्रमण एक पटक सुरु भएपछि नियन्त्रण गर्न ढिलो हुन्छ, त्यसैले समुदाय आफैं सक्रिय बन्नु आवश्यक छ,” उनी भन्छन् ।
२०२५ मा नेपालमा डेङ्गु देशव्यापी रूपमा फैलिएको छ। संक्रमितको संख्या ३,००० नाघिसकेको छ । यस्तो अवस्थामा व्यक्तिगत सतर्कता, समुदायको सक्रियता र सरकारको समयमै पहलले मात्र यो महामारीलाई नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ छ।




