“खाडीमा नेपाली कामदार मदिराको नाममा घातक रसायन सेवन गरिरहेका छन्”-डा. शर्मा

0
30

१५ अगष्टमा कुवेतमा एकैसाथ २३ विदेशी कामदारहरूको मिथानोल–मिश्रित विषालु मदिरा सेवनपछि मृत्यु भयो । यीमध्ये १६ जना नेपालीको मृत्यु भए पनि कुवेतस्थित दुतावासले १० जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । घटना लगत्तै ३५ नेपालीलाई अस्पताल भर्ना गरिएको थियो ।

उक्त मदिरा सेवनपछि उपचाररत कैयनहरूलाई अहिले इन्सेन्सिभ केयरमा राखेर उपचार गराइरहिएको छ, भने कतिपयको डायलाइसिस पनि भइरहेको छ । मिथानोल मिश्रित विषालु मदिरा सेवन गर्ने सबै नेपाली कामदार हुन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १६० जना भन्दा बढी व्यक्तिहरूलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यो घटना उजागर भएपछि कुवेतमा उक्त रसायनमिश्रित मदिरा उत्पादन गर्ने अवैध कारखानाहरू बन्द गरिएको छ । करिब ६६ जना पक्राउ परेका छन् । यो घटनाबारे थप अनुसन्धान जारी छ।

इस्लामिक मुलुक कुवेतले मदिरा उत्पाद, बिक्रि र सेवनलाई कडाई गर्दै आइरहेको छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरुले लुकिछिपी घातक रसायसन मिश्रित मदिरा सेवन गर्ने गरेका छन् ।

यसबारे नेपालका कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मासँग विष्णु श्रेष्ठले लिएको अन्तर्वार्ता:

विषालु वा नक्कली मदिरामा कुन–कुन रसायन पाइन्छ र यसको सेवनले शरीरमा कस्तो असर गर्छ ?

नेपाली आप्रवासी कामदारहरु भएका अरब मुलुकमा नसा लागोस् भनेर विभिन्न खालका रसायन मिसाएर मदिरा बनाउने गरिएको छ । तर के कस्ता रसायन मिसाएर बनाइएको हुन्छ, भनेर कामदारहरुले थाहा पाउँदैनन् । मदिरा उत्पादन गर्ने व्यक्तिले लुकीछिपी रसायनहरु मिसाएर मदिरा बनाउँछन् ।

खाडीका अधिकांश मुलुकमा मदिरा बिक्रिलाई गैर कानुनी मानिन्छ । यस्ता देशहरुमा लुकिपिटि मदिरा बनाउने र बिक्रि गर्ने काम हुन्छ । यस्तो अवस्था के राखेर बनाइयो भन्ने बारेमा आम रुपमा थाहै हुँदैन ।

घरेलु सामान कुहाएर निस्किने रसायनहरु मिसाएर बनाइएको मदिरा सेवन गर्ने गरेको सुनिएको छ । मैले सुने अनुसार ट्वाइलेट सफा गर्ने हार्पिक समेत राखेर मदिरा बनाइने गरिएको छ ।

हामीकहाँ कलेजो खराब भर्ई विदेशबाट फर्केर आउनेहरुले बताए अनुसार एजेन्टले ल्याइदिने र त्यहिँ मदिरा सेवन गर्ने गरेका छन् । त्यसैले आप्रवासी कामदारहरुलाई के रसायन राखेर बनाइएको हुन्छ, भन्ने बारेमा थाहा हुँदैन । पहिलेदेखि नै कलेजोमा समस्या भएर विदेश गएकाहरुलाई त्यहाँ पुगेर रसायन मिश्रित मदिरा खाँदा थप असर पर्छ ।

विषालु मदिरा सेवन गरेपछि देखिने प्रारम्भिक लक्षणहरू के–के हुन् ?

कसैलाई जन्डिस देखिन्छ । कलेजेको काम शरिरमा भएको फोहोर कुरा बाहिर फाल्ने हो ।

यस्तो काम गर्ने क्रममा धेरै विषालु रसायन सेवन गर्दा कलेजोले काम नै गर्न नसक्ने गरि बिग्रिन्छ र, जन्डिस हुन्छ । कसैलाई पेट फुल्ने समस्या हुन्छ । यस्तै, रगत बान्ता हुने, कालो दिसा हुने र रगत बग्ने समस्या देखिन्छ ।

विषाक्त मदिरा सेवन गरिसकेपछि स्वास्थ्य समस्या देखिए के गर्ने?

सबैभन्दा पहिला त मदिरा नै स्वस्थकर होइन । त्यसैले यसको सेवन नै गर्नुहुँदैन । पहिलेदेखि नै मदिरा सेवन गर्नेको कलेको बिग्रने सम्भावना अत्यधिक हुन्छ ।

मदिरा सेवनका कारण पेट दुख्ने, वाकवाकि लाग्ने, आँखामा जन्डिस देखिने जस्ता समस्या भएमा सबैभन्दा पहिला कजेको सम्बन्धी उपचार गरिहाल्नुपर्छ । कलेजो रोग विशेषज्ञको सम्पर्कमा पुग्नुपर्छ ।

कुवेतजस्ता खाडी मुलुकमा विषालु मदिरा सेवन गरेर स्वास्थ्य समस्या भोगिरहेका कामदारको के कसरि उपचार गरिन्छ?

यस्तो अवस्थामा सबैभन्दा पहिले कलेजोलाई आराम गराउनु पर्छ । बिरामी परेकालाई तागतिलो खानेकुरा खुवाउनु पर्छ । खान नसके सुइबाट भए पनि दिइनुपर्छ । कलेजो बिग्रिन नदिने औषधिहरु सेवन गराउनुपर्छ ।

कडा मदिरा प्रतिबन्ध हुने मुलुकमा कामदारहरूले किन यस्ता अवैध मदिरा सेवन गर्छन्?

कुवेत लगायत खाडी मुलुक जानुअघि नै मदिरा सेवन गर्ने लत लागेकाहरुलाई त्यहाँ गएर पनि सेवन गर्ने गर्छन् । त्यहाँ हानिकारक मदिरा बिक्रि हुन्छ, भन्ने कुरा थाहा पाएर पनि कतिपयले लतका कारण सेवन गर्छन् ।

खाडीको अत्यधिक तापक्रममा दिनभर काम गरेर कामदार थाकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरु मदिरा सेवन गरेमा आराम हुन्छ भन्ने भ्रममा हुन्छन् । यो गलत कुरा हो । थकाई लागेपछि सन्तुलित ताजा खानेकुरा खाने र आराम गर्नु नै उत्तम उपाय हो ।


तस्वीरः आइएलओ

तपाईँले वैदेशिक रोजगारिबाट फर्किएका कामदारहरुमा पहिले यस्तो समस्या देख्नु भएको थियो?

विदेशमा रहँदा विषालु मदिरा सेवन गरेर बिरामी परेकाहरु हामीहरुले पहिले पनि देखेका भेटेका छौँ । वैदेशिक रोजगारिका क्रममा स्वास्थ्य समस्या भएर फर्कीनेहरुमा विषाक्त मदिरा सेवन गरेकाहरु पनि छन् । हामीहरुले यस्ता बिरामीहरु भेटिरहेका हुन्छौँ ।

यस किसिमका घटना दोहोरिन नदिन सरकारले के–कस्ता कदम चाल्न सक्छन्?

स्वास्थ्य मन्त्रालयले मदिरा सेवनलाई निरुत्साहित गर्ने कार्यक्रम संञ्चालन गर्नुपर्छ । जसरि चुरोटको बट्टामा क्यान्सर भएको फोटो आउँछ त्यसैगरी मदिरा सेवन गर्दा कलेजो बिग्रीन्छ भन्ने सचेतनासहितको कार्यक्रम संञ्चालन गर्नुपर्छ ।
तर नेपालमा मदिरा सेवनबाट कलेजो बिग्रिने जस्ता कडा रोग देखिन्छ भनेर सचेतना फैलाउने कुरालाई जनस्वास्थ्यको ठुलो प्राथमिकतामा राखेको पाइदैन ।

मन्त्रालयले मदिरा सेवनले कलेजो बिग्रिने, जन्डिस देखिने र हेपटाइटिसको समस्या हुनसक्ने भनेर सचेतना फैलाउन सकेको छैन । यी गरिहाल्नु पर्ने अपरिहार्य काम हुन् ।

नेपालबाट वैदेशिक रोजगारिमा जाने कामदारको स्वास्थ्य परिक्षणका क्रममा कलेजो परिक्षणलाई पनि अनिवार्य लागु गर्नुपर्छ । कलेजो सुन्निएको देखिएमा अबदेखि मदिरा नखानु भनेर कामदालाई सम्झाई बुझाई गरेर पठाइएको पाइदैन ।

नेपाली कामदारलाई तपाईंले के सन्देश दिन चाहनुहुन्छ, विशेषगरी कुवेत वा खाडी मुलुकमा मदिरा सेवनको जोखिमबारे?

खाडी मुलुकहरुमा मदिरा सजिलै खरिद गर्न पाइदैन । त्यसैले कामदारले जस्तो भेटिए पनि सेवन गर्ने चलन छ । यसो गर्दा विषालु मदिराको सेवनले ज्यानै जाने जोखिम हुन्छ । त्यसैले मदिरा सेवन नै त्याग्नुपर्छ ।

समय समयमा अस्पताल गएर स्वास्थ्य परिक्षण गर्नुपर्छ । काम गरेर थकान भएका बेला मदिराको साटो सन्तुलित भोजन गर्नुपर्छ । यसले कलेजोलाई बिग्रिनबाट बचाउँछ ।

Leave a Reply