सुरज बिश्वकर्मा
प्रदेश– ५ सरकारले स्वास्थ्यका बिभिन्न पदमा ५१ जना स्वयंसेवक माग गरेको छ ।
प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित गर्न भन्दै समाजिक विकास मन्त्रालयले १२ ल्याब असिस्टेन्ट, २१ अनमी, १५ अहेव, एक हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स र एक मेडिकल अधिकृत माग गरेको हो ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रसहित माध्यमिक तहको विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक तथा इन्जिनियरिङ, कानुन र खेलकुद क्षेत्रका एक सय ६२ जना स्वयंसेवक माग गरेकोमा ५१ जना स्वास्थ्य क्षेत्रका छन् ।
मन्त्रालयले स्वयंसेवकलाई मासिक निर्वाहभत्ता उपलब्ध गराउने जनाएको छ । उमेर हद नतोकेका कारण इच्छुक उम्मेदवारले शैक्षिक योग्यता र नेपाली नागरिकता, परिषद् दर्ता भएको प्रमाणपत्रको प प्रतिलिपिसहित आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, समकक्षता खुलाउनुपर्ने आवश्यक भएमा उक्त विषय खुल्ने कागजातसहित सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा आवेदन पेस गर्नुपर्नेछ ।
मन्त्रालयले तोकिएको योग्यता पुगेका व्यक्तिलाई आउँदो ३० पुससम्म कार्यालय समयमा आवेदन दिन सक्ने जनाएको छ ।
न्यूनतम शैक्षिक योग्यताको प्राप्तांक र अन्तर्वार्ताका आधारमा उम्मेदवार छनोट गरिने मन्त्रालयद्धारा जारि सूचनामा उल्लेख छ ।
छनोटमा परेका स्वयंसेवकलाई मन्त्रालयले २०७६ सालको असार मसान्तसम्म परिचालन गर्नेछ ।




