उपचार पोस्ट
बिगत चार दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । अनशन बसेको तेस्रो दिनमै डा.केसीको स्वास्थ्यमा समस्या देखिएको हो ।
छातीमा दुखाइका साथै शौचालय जाँदा पनि थरथर काप्न थालेपछि इलाममा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न आग्रह गरेका थिए । चिकित्सकहरूको अनुरोध स्वीकारेपछि डा. केसिको इलाम अस्पतालमार्फत रगत जाँच गरिएको थियो ।
परीक्षण रिपोर्टअनुसार तेस्रो दिनमा रगतमा चिनीको मात्रा निकै घटिसकेको छ । न्यूनतम पनि ७० हुनुपर्ने सुगरको मात्रा ५० भन्दा कम भइसकेको छ । पिसाबमा पनि किटोन बढी पोजेटिभमा देखिन थालेको छ ।
चिकित्सकहरूका अनुसार पिसाबमा किटोन बढी देखिनु भनेको सुगर घटेर शरीरका महत्वपूर्ण अंग सञ्चालनका लागि मौज्दात प्रोटिन प्रयोग भइरहेको संकेत हो ।
इलाममा चिसो बढेका कारण पनि श्वास–प्रश्वासमा कठिनाइ भए जटिलता बढ्न थप सक्ने चिकित्सकहरूको भनाइ छ ।



