नेपाल मेडिकल काउन्सिलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहतका १० र काठमाडौं विश्वविद्यालय (केयू) मातहतका ११ मेडिकल कलेजको सिट निर्धारण गरेको छ ।
मेडिकल काउन्सिलको पाँच असोजमा बसेको पूर्ण बैठकले केयू र त्रिवि अन्तर्गतका २१ मेडिकल कलेज, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गरि एमबीबीएस तर्फ कुल १७ सय १६ र बिडिएसतर्फ कुल पाँच सय २० सिट निर्धारण गरेको हो ।
त्रिवि अन्तर्गतको महाराजगञ्ज क्याम्पसले बिडिएस तहमा विद्यार्थी २५ सिट मागेकोमा काउन्सिलले निरिक्षण नभएको भन्दै सिट दिन अस्वीकार गरेको छ ।
काउन्सिलका एक सदस्य महाराजगञ्ज क्याप्सको अनुगमन गरेर निरिक्षण प्रतिवेदन तयार पारेपछि मात्र सिट निर्धारण गर्न सकिने बताउँछन् ।
काउन्सिलले गरेको सिट निर्धारणका आधारमा मेडिकल कलेजहरुले एमबीबीएस तथा बिडिएस तहका लागि विद्यार्थी भर्ना लिन पाउँछन् ।
काउन्सिलले सिट निर्धारण गर्नुअघि त्रिवि र केयूले मातहतका कलेजका लागि सिट निर्धारण गरेर काउन्सिल समक्ष सिफारिस गरेका थिए ।
मेडिकल काउन्सिलबाट खट्ने निरिक्षण टोलीले कलेजमा उपलब्ध पूर्वाधार र जनशक्तिका आधारमा सिट निर्धारण गर्दै आएको छ ।




