‘अब जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना संक्रमितको उपचार थाल्नुपर्छ’

0
142
डा. विराज कर्माचार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १९ बैशाख २०७८ को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार १३७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मुलुकमा कोरोना संक्रमित व्यक्तिको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

जनस्वास्थ्य विज्ञ तथा धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्यले अघिल्लो हप्ताको तुलनामा गत हप्ता(पछिल्लो सात दिन) यो हप्ता मुलुकमा कोरोना भाइरसको संक्रमण १३७.८ प्रतिशतले बृद्धि भएको बताए ।

डा. कर्माचार्य अनुसार कोरोना संक्रमण दर(कोभिड टेष्ट पोजिटिभ रेट) कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६७.९ प्रतिशत र लुम्बिनी प्रदेशमा ६१.३ प्रतिशत छ ।

उनले लुम्बिनी प्रदेशमा सबैभन्दा कोरोना भाइरस फैलिने दर भएको बताए । अर्थात लुम्बिनी प्रदेशमा एक जना व्यक्तिले २.९ जना व्यक्तिमा कोरोना सारिरहेका छन् ।

मुलुकमा यसरी तिब्र गतिमा कोरोना संक्रमण फैलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विज्ञप्ती नै जारी गरेर संक्रमितको उपचार गर्न नसक्ने बताइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले १७ बैशाख २०७८ मा विज्ञप्ती जारी गर्दै ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ भनेको थियो ।

मुलुकमा बढ्दो कोरोना महामारि र कमजोर स्वास्थ्य प्रणालीबीच कसरी समुदाय स्तरमा कोरोना नियन्त्रण र संक्रमितको उपचारको व्यवस्थापना गर्ने त ?

जनस्वास्थ्य विद् डा. कर्माचार्य यसो भन्छन्,
“अहिले कोरोना संक्रमणको तथ्यांक हेर्दा संक्रमितको उपचारका लागि सरकारले ठुला अस्पताल मात्र तोकेर पुग्दैन । सरकारले कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्याएका अस्पताल भरिएका छन् ।

अब स्वास्थ्य मन्त्रालयले अक्सिजनको सुविधा भएका जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई संक्रमितको उपचार गर्ने ठाउँ बनाउनु पर्छ । कोरोना सबै बिरामी आइसियु र भेन्टीलेटरमै राखेर उपचार गर्ने खालका हुँदैनन् ।

त्यसैले सामान्य अक्सिजन दिएर उपचार गर्न मिल्ने बिरामीका लागि सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमार्फत उपचार गर्ने ठाउँ बनाउन अब ढिला गर्नुहुँदैन । जिल्ला अस्पताल र केन्द्रमा सरकारले काममा खटाएका जनशक्तिलाई परिचालन गर्नुपर्छ । यस्तो काम गर्न सरकारले अहिलेसम्म ध्यान दिएको छैन ।

सरकारले मुलुकमा भएका स्वास्थ्यका संरचनाहरुलाई पूर्ण रुपमा प्रयोगमा नल्याई संक्रमितको उपचार गर्न सक्दिन भनेर हात उठाउन मिल्दैन ।

यस्तै, अहिले कोरोना भाइरसको संक्रमण गाउँगाउँ फैलिने थालेको छ । काठमाडौं लगायतका सहर छोडेर गाउँ फर्किएकाहरुले संक्रमण विस्तार गरेको देखिन्छ ।

यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न पुनः सक्रिय हुनुपर्ने बेला भइसकेको छ ।
अघिल्लो वर्ष सबैजसो स्थानिय सरकारले परिक्षण र आइसोलेसनको लागि संरचना बनाएका थिए । तर, अहिले यी संरचनाहरु निश्क्रिय बनाउँदा गाउँमा संक्रमण झनै बढ्ने जोखिम देखिएको छ ।

निषेधाज्ञा वा बन्दाबन्दी गरेर मात्रा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिदैन । तिब्र गतिमा परिक्षण र राम्रो आइसोलेसनको व्यवस्थापन नगरे कोरोना संक्रमण थप उच्च गतिमा फैलिनेछ ।

भित्रभित्रै सल्किरहेको संक्रमण पहिचान गर्न स्थानिय सरकारले समुदाय स्तरमा कोरोना परिक्षणलाई तिब्रता दिदैपर्छ । यसो गरे मात्र भित्रभित्रै फैलिएको कोरोना संक्रमण पहिचान गर्न सकिन्छ ।

स्थानिय तहले घरमा आइसोलेसनमा बसिरहेकाहरुलाई पल्स अक्सीमिटर उपलब्ध गराउने र आवश्यक स्वास्थ्य परामर्शको पनि व्यवस्था गर्नुपर्छ ।

होम आइसोलेसनलाई व्यवस्थित र प्रभावकारि बनाउन सके मात्र अस्पतालमा अनावश्यक भिडभाड कम गर्न सकिन्छ र, कोरोना संक्रमणलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ ।”

Leave a Reply