अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार आवश्यक

0
21

आज नोभेम्बर १७, २०२२ अर्थात मंसिर १, २०७९ का दिन संसारभरि नै विभिन्न कार्यक्रमको आयोजना गरि विश्व प्रिम्याचोरिटी दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि नै जन्मिएको नवशिशुको जन्मलाई अवधि नपुगी जन्मनु वा ‘प्रिटर्म बर्थ’ भनिन्छ । सामान्य रूपमा बुझ्दा गर्भावस्थाको ३२ र ३७ हप्ताको बीचको समयमा जन्मेको नवशिशुको स्वास्थ्य २८ र ३२ हप्ताको बीचको समयमा जन्मेका नवशिशुहरूको तुलनामा राम्रो हुन्छ । यी अवस्थाभन्दा २८ हप्ताअघि जन्मेका नवशिशुहरूको स्वास्थ्य अवस्था जटिल हुने सम्भावना अझ धेरै हुन्छ ।

विश्वमा हरेक वर्ष करिब १० लाख बालबालिकाको मृत्यु अवधि नपुगी जन्मनुका कारण निम्त्याउने जटिलताले गर्दा हुने गर्दछ । ५ वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण अवधि नपुगी जन्मनुका कारण निम्त्याउने जटिलताहरू हुन् ।

सही उपचार तथा स्याहार गरियो भने यी मृत्युमध्ये ७५ प्रतिशत मृत्युलाई रोक्न सकिन्छ । उच्च आयस्रोत भएको मुलुकको तुलनामा नेपाल जस्तो न्यून आयस्रोत भएको मुलुकमा अवधि नपुगी जन्मने नवशिशुहरूको बाँच्ने दर कम रहेको विभिन्न प्रमाणहरूले देखाएको छ ।

नेपालमामात्र वर्षेनी ८ लाख १० हजार नवशिशुहरू अवधि नपुगी जन्मन्छन् जसमध्ये ४ हजार ३ सय अवधि नपुगी जन्मेका नवशिशुहरूको ५ वर्ष नपुग्दै विभिन्न कारणले मृत्यु हुन्छ । यसलाई कम गर्नका लागि गर्भावस्थासँग सम्बन्धित कारणहरू निवारण गर्नुपर्दछ ।

गर्भवती महिलाको उमेर २० बर्षभन्दा कम र ३५ बर्षभन्दा बढी भएको अवस्थामा अवधी नपुगी नवशिशु जन्मिने सम्भावना बढी हुन्छ । त्यस्तै आइरन, क्याल्सियम जस्ता सूक्ष्म पोषक तत्वको कमी हुन नदिने, जुकाको सङ्क्रमण हुन नदिने, धुम्रपान, मध्यपान, लागूपदार्थको सेवन नगर्ने र गर्भवती महिलालाई कामको भार पर्ने अवस्था आउन नदिने गर्नाले अवधि नपुगी जन्म हुने दर घटाउन सघाउ पुग्छ ।

अवधि नपुगी जन्मेका नवशिशुको गुणस्तरीय स्वास्थ्यका लागि गुणस्तरीय गर्भवती सेवा लिन आउनेको संख्यामा वृद्धि गर्ने र यसका लागि समुदायमा अनुकुल वातावरण बनाउने, बहुसूक्ष्म पोषक तत्वहरू खुवाउने, औषधि उपचार गर्ने जस्तैः एच.आई.भी सङ्क्रमित गर्भवती महिलालाई Antiretroviral Therapy (ART) दिने गर्नुपर्दछ ।

अवधि नपुगी जन्मेका नवशिशुको व्यवस्थापनका लागि दक्ष वा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत प्रसूति तथा उत्तर प्रसूति सेवामा जोड दिनुपर्दछ । नवशिशु जन्मनेवित्तिकै स्तनपान गराउने, ६ महिनासम्म नवशिशुलाई स्तनपान मात्र गराउने र ६ महिना पूरा भएपछि स्तनपानका साथसाथै पुरक वा थप आहार खुवाउने गर्नुपर्दछ ।

अवधि नपुगी जन्मेका, तथा कम तौल भएका नवशिशुका लागि मायाको अँगालो उत्तम स्याहार हो । आमा वा परिवारका अन्य सदस्य र अवधि नपुगी जन्मेका नवशिशुको नाङ्गो छाती लगातार टाँसेर गरिने स्याहारलाई मायाको अँगालो भनिन्छ । यो सजिलो, कम खर्चिलो तर प्रभावकारी बिधि हो । मायाको अँगालो बिधिले नवशिशुलाई न्यानो बनाउँछ र शिताङ्ग हुनबाट जोगाउन सकिन्छ । साथै, आत्मीयता बढाउने, सङ्क्रमण हुनबाट जोगाउने र मृत्युबाटसमेत बचाउन सकिन्छ ।

सबै अवधि नपुगी जन्मेका बच्चाहरू बाँच्ने मात्र हैन, जटिलता बिना गुणस्तरीय जीवनयापन गर्न पाउनु पर्दछ । समय अगावै सुत्केरी हुने जोखिममा रहेका सबै महिलाले स्वास्थ्य संस्थामा आफ्नो बच्चा जन्माउनुपर्छ । यसरी जन्मेका नवशिशुहरूलाई आमा वा परिवारका सदस्यहरूले तत्काल मायाको अँगालोमा राख्ने अभ्यासलाई अनुशरण गर्न र गराउन सकेमा स्वास्थ्य जटिलताहरू कम गर्न र नवशिशुको स्वास्थ विकास सुनिश्चित गर्न सकिन्छ ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

Leave a Reply