नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमण भेटियो, अब के गर्ने?

0
162

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात मंकिपक्सका बिरामी फेला परेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले १ असार २०८० मा जारी गरेको विज्ञप्ती अनुसार ६० वर्षका एक विदेशी महिलामा शरिरमा फोका आएर देखा पर्ने मंकिपक्स भेटिएको बताएको हो ।

मंकिपक्ससँग मिल्दोजुल्दा लक्षण देखिएपछि त्यसैको शंकामा परिक्षण गर्दा ती महिलामा मंकिपक्सको संक्रमण भएको पत्ता लागेको हो । ती बिरामीको अहिले काठमाडौंस्थित अस्पतामार्फत उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. शमिरकुमार अधिकारीले बताए ।

शंकास्पद ती विदेशीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत स्वाब परिक्षण गर्दा मंकीपक्स संक्रमित भएको पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा यो प्रयोेशालाबाट मात्र मंकिपक्सको परिक्षण हुने गरेको छ ।

पिसिआर मेसिनमार्फत नै मार्फत यसको परिक्षण हुने भए पनि यसका लागि चाहिने प्राइमर र रिएजेन्ट विदेशबाट मगाउनु पर्छ । विश्व स्वास्थ्य संघठनले अहिलेसम्म यी सामग्री विदेशबाट मगाएर प्रयोगशालालाई परिक्षणको लागि दिने गरेको छ ।

ती बिरामीको जाँच तथा उपचारमा विज्ञका रुपमा संलग्नमध्येका एक संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले उनलाई कुन स्रोतबाट मंकीपक्स सर्यो भन्ने बारेमा पत्ता नलागेको बताए ।

“उनलाई विदेशबाटै वा नेपालमा आएर भाइरस सर्यो भन्ने बारे पनि पत्ता लागेको छैन,” डा. अधिकारीले भने, “कुन प्रजातिको मंकीपक्स भाइरस भन्ने पनि पत्ता लाग्न बाँकी नै छ ।”

डा. प्रभात अधिकारी

जीन सिक्वेन्सीङ गरेर भाइरसको प्रजाती पत्ता लगाउन सकिन्छ । योसँगै ती बिरामी कति जना व्यक्तिको सम्पर्कमा पुगे भनेर खोज पड्ताल गर्न अत्यावश्यक भएको डा. अधिकारीले बताए ।

मंसिपक्सका बिरामी भेटिएपछि शुक्रबार नै स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संघठन अधिकारी र संक्रामक रोगका विज्ञ चिकित्सकलाई बोलाएर छलफल गरेको थियो । उक्त छलफलमा सहभागि भएका डा. अधिकारीले संक्रमणको स्रोत पत्ता लगाउने र थप शंकास्पद बिरामी खोज्ने काम तिब्र गतिमा अघि बढाउनुपर्ने बताए ।

उच्च ज्वरो र छालामा फोकाहरु आएमा मंकिपक्सको शंका गरिन्छ । यो घाउ तथा खटिरा छाला र शरिरबाट निस्केको तरल पर्दाथको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्ने सरुवा रोग हो । यो संक्रमित जनावरबाट मानिसमा पनि सर्ने गरेको छ ।

रोडेन्ट्स अर्थात मुसा जस्ता जनावरहरुबाट यो भाइरस फैलिने गरेको छ । गर्भवती, बालबालिका र एचआईभीका बिरामी यो रोगको उच्च जोखिममा पर्छन् ।

डा. अधिकारीले भने, “मुख्यतः स्वास्थ्यकर्मी सचेत बनाउनु पर्यो । ज्वरो र शरिरमा फोका तथा बिमिरा आएका बिरामी भेटिए शंका मानेर परिक्षण गर्नुपर्छ ।” उनले अनुसार संक्रमित व्यक्तिले समयमा उपचार पाए निको हुने र मृत्युदर पनि कोरोना भाइरसको तुलनामा कम रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको तर सचेतना आवश्यक भएको बताए ।

स्वास्थ्य मन्त्रालयले मंकीपक्सबाट बँच्न नियमित साबुन पानीले हात धुने, मंकीपक्सको संक्रमणबाट मरेका जनावर तथा मानिसको सम्पर्कमा नजाने, संक्रमित बसेको कोठा तथा लगाएका लुगाहरु डीटर्जेन्टले सफा गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरको उचित व्यवस्थापन गर्ने जस्ता कार्य गर्नुपर्ने बताएको छ ।

यस्तै, मन्त्रालयले शंकास्पद बिरामी फेला परे उचित सल्लाह लिन कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गर्न सार्वजनिक अपिल गरेको छ ।

विश्व स्वास्थ्य संघठनको १३ जुन २०२३ सम्मको तथ्यांक अनुसार मंकीपक्सबाट विश्वभर कुल १४७ जनाको मृत्यु भइसकेको छ । यस्तै, एक सय ११ देशमा ८७ हजार ९७९ संक्रमित भेटिएका छन् ।

मंकिपक्सको शुरुवात
मंकिपक्स पहिलो पटक सन् १९५८ मा डेनमार्कमा भेटिएको हो । सिंगापुरबाट अनुसन्धानका लागि ल्याइएका बादरहरुको समुहमा यसको संक्रमण भेटिएको थियो । तर ती बादरहरुमा कुन स्रोतबाट संक्रमण फैलिएको भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यो भाइरस मानिसमा पहिलो पटक सन् १९७० मा देखिएको हो । पहिलो पटक अफ्रिकी मुलुक कंगोका एक ९ वर्षिया बालिकामा यसको संक्रमण भेटिएको थियो । त्यसपछि धेरै पटक क्यामरुन, लाइबेरिया, कंगो, सेरिया लियोन जस्ता मध्य र पश्चिम अफ्रिकामा यसको प्रकोप फैलिएको थियो ।

मंकिपक्सबाट बच्न त्यसबेला स्मलपक्सको खोप लगाउने गरिएको थियो । स्मलपक्सको खोपले मंकीपक्समा ८० प्रतिशतसम्म काम गर्ने भएकाले उक्त खोप लगाउने गरिएको थियो । तर मंकीपक्सका केसहरु भेटिन छाडेपछि जब सन् १९८० मा डब्लूएचओले मंकीपक्स उन्मुलनको घोषणा गर्यो त्यसपछि स्मलपक्सको खोप मंकिपक्समा प्रयोग गर्न छाडियो । त्यसपछि त स्मलपक्सको खोपको प्रयोग र उत्पादन पनि हुन छाड्यो ।

विश्व स्वास्थ्य संघठनले विश्वबाटै मंसीपक्स उन्मुलनको घोषणा गर्नुअघि १९७५ मा बांग्लादेशमा स्पमलपक्सको अन्तिम केस भेटिएको थियो । यसपछि मंकीपक्स विरुद्ध स्पलपक्सको खोप लगाउन छाडिएको हो ।

तर मंकीपक्स उन्मुलनको घोषणा गरिएको २२ वर्षपछि अर्थात सन् २००३ मा फेरि अमेरिकामा पहिलो पटक तीन वर्षिया बालिकामा यसको संक्रमण भेटियो । त्यसबेला अमेरिकामा ७१ जनामा संक्रमण फेला परेको थियो । ती बालिकामा गाम्बियाबाट ल्याइएको ठुलो मुसाबाट उक्त भाइरस सरेको विश्वाँस गरिएको छ । यसको एक दशकपछि सन् २०१७ मा नाइजेरियामा मंकीपक्सको प्रकोप फैलिएको थियो ।

सन् २०२२ को मे महिनामा विश्वव्यापी रुपमा अफ्रिका बाहेकका स्थानमा मंकिपक्सको प्रकोप फैलियो । त्यसपछि २३ जुलाईमा विश्व स्वास्थ्य संघठनले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गर्यो । अहिले यो विश्वव्यापी जनस्वास्थ्य आपत्कालको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले मंकीपक्स विरुद्धको खोप उपलब्ध भए पनि नेपालमा पनि ल्याइसकिएको छैन ।

विश्व स्वास्थ्य संघठनको तथ्यांक अनुसार ११ अगष्ट २०२२ सम्ममा  मंकिपक्स संक्रमितको संख्या
युरोप: १७८७९
अमेरिका: ९५६२
अफ्रिका: ३८८
पश्चिम प्रशान्त क्षेत्र: ९५
पूर्वी भूमध्य क्षेत्र: ३२
दक्षिण पूर्वी एशिया: १३

Leave a Reply