लाभदायक कोदो

0
376

उपचार पोस्ट

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । यो सजिलै पच्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् ।

कोदो खाए शक्ति मिल्छ । यो ऊर्जाको राम्रो स्रोत पनि हो । यसबाहेक तौल घटाउन समेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग र्पुयाउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन ।

पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ ।

केहि अध्ययनहरुले कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरिसकेका छन् । कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्छ । अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र खानेदर बढ्दै गएको छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी, मोमो जस्ता परिकार पनि बन्न थालिसकेका छन् ।

कोदोको ढिडो बेलुकाको खानाको रुपमा मासु, गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ । जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढीजसो परिकार जाडो याममैं खाईन्छ ।

Leave a Reply