बालबालिकामा निमोनियाको डर

0
207

पाँच वर्षभन्दा कम उमेरका बच्चाको मृत्यु दरमा ७० प्रतिशत भन्दा बढी बच्चाहरुको मृत्यु निमोनियाँ, झाडापखाला, मलेरिया, दादुरा र कुपोषणका कारणले हुने गर्दछ । स्वास्थ्य कार्यकर्ताहरुले स्वास्थ्य केन्द्रहरुमा यी रोग लागेका बच्चाहरुको राम्रोसँग हेरविचार गरी मृत्यु हुने कारणबाट बचाउने सरल र प्रभावकारी उपायहरु गर्न सक्छन् ।

विश्व स्वास्थ्य संगठन र युनिसेफले यस्ता अवस्थामा गर्नुपर्ने उपायहरुका बारेमा अपनाउनुपर्ने छुट्टाछुट्टै रुपमा प्रकाशित कार्य विधिहरु एउटैमा समावेश गरेका छन् । साथै हालसम्म पत्ता लागेका उच्चतम प्राविधिक तथ्यहरुलाई पनि यसमा समावेश गरी प्रयोगमा ल्याएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार निमोनियाँले विश्वमा एड्स, टिबी र मलेरियाले भन्दा बढीको ज्यान लिएको छ । विश्वमा निमोनियाँले वर्षेनि १५ करोड ५० लाख बालबालिकालाई बिरामी बनाएको छ र १२ लाख बालबालिकाको ज्यान लिने गरेको छ । नेपालमा सन् २०११ मा भएको सर्वेक्षण अनुसार श्वासप्रश्वासम्बन्धी संक्रमण बाल मृत्युको प्रमुख कारण भएको उल्लेख गरिएको छ ।

उक्त सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका ५ प्रतिशत बालबालिकालाई निमोनियाँले सताएपछि अस्पताल भर्ना हुने गरेका छन् । नेपालमा समुदायमा आधारित बालबालिका उपचार पद्धति, राष्ट्रिय खोप कार्यक्रम, पोषण कार्यक्रम, सूचना तथा प्रचारप्रसार, विद्यालय शिक्षामा रोकथामका उपायबारे पढाउनेजस्ता कार्यक्रमले बाल मृत्युदर घटेको मानिएको छ । तर पनि अपेक्षा गरे अनुसार बालमृत्युदर घट्न सकेको छैन । अहिले विश्वभर निमोनियाँ बाल मृत्युदरको पहिलो र प्रमुख कारण बनिरहेको छ ।

विकासोन्मुख देशमा निमोनियाँ एउटा घातक रोग हो । यो जुनसुकै लिङ्ग र जातिको मानिसलाई लाग्ने भए पनि बालबालिकाहरु यसबाट बढि प्रभावित हुने गरेका छन् । यदि समयमा उपचार नगरेमा यसले मानिसको ज्यानै लैजाने खतरा रहन्छ । एल्भीयोल्सबाट हुने संक्रमणलाई निमोनियाँ भनिन्छ । निमोनियाँका धेरै कारण भए पनि प्रायः ब्याक्टेरीयाबाट हुने निमोनियाँ प्रमुख स्वास्थ्य समस्या बन्ने गरेको छ । कुपोषणबाट ग्रसित भएका, दादुरापछिको निमोनियाँ, ५ वर्ष मुनिका बच्चाहरुको निमोनियाँ बालबालिकाहरुमा घातक सिद्ध भएको छ ।

निमोनियाँ हुँदा मानव शरिरमा हुने फोक्सोका तन्तुहरु बढी प्रवाहित हुन्छन् । यसमा रेस्पाइरटोरी ब्रोंकिल्स, यल्भियोलार डक्ट्स, स्याक्स र यल्भियोलाई नै समावेश हुन्छन् । निमोनियाँलाई फोक्सोको रचना र कारण अनुसार वर्गिकरण गर्न सकिन्छ । फोक्सोको रचना अनुसार एनाटोमिकल वर्गिकरणमा लोवर र सेगमेन्टल लोबुलर हुन्छ तर लोबुलर दुबै फोक्सोमा भए त्यसलाई ब्रोंको निमोनियाँ भनिन्छ ।

विशेषप्रकारको रोगजन्य जीवाणुबाट हुने निमोनियाँलाई विशेष निमोनियाँ भन्दछन् । यो प्रायः निमोकोक्कसबाट हुने गर्छ । एस्पीरेशन निमोनियाँ मट्टितेल, पेट्रोल लगायत अन्य कुनै बाह्य बस्तु फोक्सो वा सास नलीमा पुग्न गएमा त्यसले निमोनियाँ बनाउँछ ।

हावामा रहेका किटाणुहरु फोक्सोमा पुग्नाले र रगतमा रहेका कीटाणु फोक्सोमा पुग्नाले, अन्य रोग लागेको समयमा रगतमा कीटाणु भेटिएमा नासोफ्र्यानेस र ओरफ्र्यानेसका कीटाणु फोक्सोमा पुग्दा तथा अन्य बाहिरी चोटपटकले पनि निमोनियाँ गराँउछ ।

एन्टिबायोटिकको आविष्कार हुनुभन्दा पहिले यो रोगबाट २५–५० प्रतिशत रोगीको मृत्यु हुन्थ्यो । तर आजभोलि समयमै उपचार गरेमा ९५ प्रतिशत रोगी निमोनियाँबाट बँच्न सक्नछन् भने ५ प्रतिशतको मात्र मृत्यु हुन्छ । निमोनियाँ धुवाँ र धुलोलाई व्यवस्थित नगरिने औद्योगिक शहरहरुमा बढी मात्रामा देखिने गरेको छ । यसका साथै निम्न आयस्रोत भएका समुहमा पनि यो रोगको संक्रमण बढी देखिने गरेको छ ।

कारण
अत्यधिक जनघनत्व भएका, सरसफाई तथा स्वास्थ्य सेवाको पर्याप्त सुविधा नभएका ठाउँका बासिन्दा निमोनियाँबाट ठूलो संख्यामा प्रभावित हुने गरेका छन् । पानीमा भिज्नु, चिसो मौसमको गडबडी, शीत लहर र अत्यधिक मद्यपानले पनि निमोनियाँलाई बढी उत्प्रेरित गर्ने गर्दछन् ।

प्रायः निमोनियाँका बिरामी जाडो समयमा बढी भएको पाइन्छ । संक्रमण भएका रोगीले खोक्दा, थुक्दा, आछँ्यु गर्दा, रोगीसँग प्रत्यक्ष सम्पर्क राख्दा निमोनियाँ सर्ने सम्भावना रहन्छ । यस बाहेक रोगिले प्रयोग गर्ने भाँडाकुँडा, लत्ताकपडा अदिबाट पनि निमोनियाँ स्वस्थ व्यक्तिको शरिरमा सर्ने प्रबल सम्भावना रहन्छ ।

लक्षण
कामज्वरो आउनु, खोकी लाग्नु, छाती दुख्नु, दम आउनु, खकार पहेँलो वा कहिलेकाँहि रगत मिसिएर आउनु, सासको गति बढ्नु, शरिर निलो हुँदै जानु र नाडीको गति बढ्नु निमोनियाँका लक्षणहरु हुन् । कामज्वरो, टाइफाइड, कालाज्वर, पिसाब सम्बन्धि युटिआई, औँलो लगायतका रोग पनि निमोनियाँ हुने लक्षणहरु हुन् ।

त्यसैले तुरुन्तै एक्सरे गरेर तथा रक्त जाँचबाट रोग लागे÷नलागेको थाहा पाउन र अन्य रोगहरुबाट बँच्न सकिन्छ । कडा खालको निमोनियाँ लागेमा बच्चाको जिउ चिसो हुने, काँप्ने तथा केही पनि पिउन नसक्ने तथा बेहोससम्म हुने लक्षण देखिन्छ ।

उपचार
निमोनियाँ रोग निदान हुने बित्तिकै उपचार सुरु गरि हाल्नु पर्छ । ज्वरो बढी आएको अवस्थामा सीटामोल (६० मि.ग्रा) र पानी पट्टी दिएर ज्वरो घटाउन सकिन्छ । अन्यथा बिरामीलाई अत्यधिक तापक्रमका कारणले गर्दा बेहोस हुने खतरा रहन्छ ।

बिरामीलाई सास फेर्न गाह्रो भएमा ब्रोन्कोडाइलेटरहरु प्रयोग गरिन्छ । अस्पतालमा भर्ना गरेको अवस्थामा बेन्जाइल, पेन्सिलीन, एमोक्सिलिन, इरिथ्रो माइसीन, क्लोरामफेनिकल तथा सेफालेक्सिन औषधि प्रयोग गर्न सकिन्छ । निमोनियाँका बिरामीलाई प्रायः ७ देखि १० दिनमा रोग पुरा निको हुन्छ ।

अन्य उपचार गर्दा धेरै छाती दुखेमा एनेल्जैसीक र डेलिरियम भएमा सेडेटिभ प्रयोग गरिन्छ । केही गरी बिरामी सिकिस्त भएमा अक्सिजन तथा हाइड्रोकर्टिजनको आवश्यकता पर्दछ ।

रोकथाम
निमोनियाँ रोगबाट बँच्न धेरै चिसो वातावरणमा बस्नु हुँदैन । सास नलीमा कुनै पनि प्रकारको संक्रमण देखिए त्यसको तत्काल उपचार गर्नुपर्छ र नियमित सन्तुलित आहार सेवन गर्नु आवश्यक छ । साना केटाकेटीहरु चिसो समयमा लुगा नलगाई बाहिर निस्कँदा र चिसो ठाँउमा बस्दा शीत लाग्ने डर हुन्छ । त्यसैले बालबालिकारुहलाई चिसोबाट बचाउन अविभावकहरु सतर्क हुनुपर्छ ।

आजभोली बालबालिकालाई तत्काल गरिने उपचारका कारण मृत्युदर पनि कम हुँदै गएको छ । बालबालिका बाहेक निमोनियाँको डर ६० वर्ष नाघेका बुढाबुढीहरुलाई पनि हुने गर्दछ । त्यसैले बालबच्चा र बुढाबुढीको उचित स्याहार र खानपानमा ध्यान दिएमा निमोनियाँका कारण हुने मृत्युलाई धेरै हदसम्म रोक्न सकिन्छ ।

निमोनियाँको रोकथामका लागि हेमोफिलस, इन्फुल्यान्जा तथा निमोकोकस विरुद्धको खोप दिइनुपर्छ ।

Leave a Reply